Thursday, February 9, 2012

flopstory: स्नेहा




हामी रिक्सामा थियौ । मैले अरुकुरा सोधेपनि उसको नामनै सोधिनछु । आफैदेखि हाँसो उठ्यो । सकेसम्म स्वाभाबिक भएर सोधे ,' नाम ?'।
'स्नेहा चौधुरी ' एकदम बङाली लवजमा उसले भनी । मेरो नाम उसले मेरो ब्यागमा हेरेकी रहिछ 'साम' भनी । मैले श्यामु भने । उसको जिब्रोले मानेन र 'सामु' उच्चारण गरी । म हाँसे ।

उुसँग केही घण्टा पहिले मात्र भेट भएको थियो । ढाका शहरको  मालिबागस्थित  बसको  काउन्टरमा । हामी दुबै जनाको बस रातिको थियो । गन्तब्य भने फरक ।  

' यु आर फ्रम ? '  उसले सोधेकी थिइ । मैले नेपाल भनेपछी उसको अनुहार उज्यालो भयो ।
मेरा नेपाली साथीहरु छन दार्जीलिङमा उसले भनी । तिमी वेस्ट बेङाल को हौ ? मैले सोधेको थिए । र उसले हो भनी । त्यति भनेर उु चुप लागेको भए हुन्थ्यो तर बोलीरही ।

बोल्नेक्रममा उसले आफु संगीतको विद्यार्थी हो भनी । म चुपचाप थिए । उु अझै के के बोल्दै थिई । मलाई भने काठमाडौंको चिसो छोडेर अचानक
ढाकाको गर्मी र कोलाहलमा आउनुपर्दा चिड्चिडाहट भैरहेको थियो । यसै पनि बाङ्लादेश आएको कयौ दिन सम्म केही कुरामा मन लाग्दैन । म सुनी मात्र रहेको थिए ।

 ' बिहानदेखि बोलेकी छैन म । बोल्ने साथी पनि थिएन । '  उसले भनी । यसो भनेपछी मैले उसलाई हेरे । हाँस्दा उसको कालो र सुन्दर अनुहार  रुन्चे देखियो ।

तिमी किन आको बङ्लादेश ? मैले सोधे ।
उु चुपलागी । मलाई अब उु चुपलागेको मन परेन । मोबाईल निकालेर चलाको जस्तो गरे । अझै बोलिन ।
आ...बाल मतलब नबोले नबोलोस् भनेर कानमा कानेस्वोर छिराए र गीत सुन्न थाले ।

दिउँसोको समय भएकोले होला काउन्टर खाली थियो । काउन्टरको मान्छे रातिको निद्रा पुर्यौउदै थियो । उसले एउटा चकलेट मलाई दिई । मैले लिन मानिन । गीत बन्द गरे । उु के के भन्दै थिई । मैले कानको बुझो झिकेर 'के?' भने ।
उसको बोली बन्द भयो । मैले ठुलो स्वोरमा बोलेछु । काउन्टरको मान्छेले ख्वाक्क खोक्यो र यसो हेर्यो । मैले 'सरी' भने ।

उसले भनी 'हामी केहीबेर बाहिर जाउँ न । म साह्रै बोर भए ।'
म छक्क परे । मैले फेरि सोधे ,'तिमी किन र कहाँ बाट आको ?'
उु उदास थिई । केही बेर चुप लागि र भनि 'आई ह्याव अ स्टोरी '!

म चुपचाप बसे । अनि भने तिमी एक्लै किन जादैनौ ? उसले ढाकामा साझँको बेला एक्लै हिंड्न डर लाग्छ भनि । मलाई उसको कुरा ठिकै लाग्यो । र हामी त्यहाँबाट निस्केर एउटा रिक्सामा चढेका थियौँ । यसरी नाम समेत सोध्न छुटेको थियो ।    

'ढाका शहर दिउँसो भन्दा राती धेरै रमाइलो लाग्छ । ' मैले भने ।
शायद मेरो भनाइ कुनै भर्खरै भेटिएकी केटीलाई सुनाइहाल्ने खालको थिएन । भन्न त मैले सामान्य रुपले भनेको थिए । खै कहाँ पुर्यायो उसलाई मेरो कुराले । उु कस्तो मलिन भै भने म त आफुलाई दोषी ठान्न थाले ।

साँझ झमक्क परिसकेको थियो ।ढाका शहर बुढीगंगा नदीको पुर्वी तटमा झन्डै दुई करोड मान्छे र तिनका सपना  बोकेर बाँचेको छ । जहाज अवतरण हुनै लाग्दा झ्यालबाट हेरेको थिए यसको बिशाल शरीरभरी कन्क्रिट्का सियोहरुले एक्युपङ्चर गरेको जस्तो देखिएको थियो । यतिखेर सडकमा रफ्तार हेर्दा लाग्थ्यो ढाका सहस्र सडकमा बगिरहेको छ ।

'तिमी पहिले ढाका आकी छौ ?' मैले उु तिर हेर्दै सोधे ।
कुनै कुराले मान्छेलाई नराम्रो लागेको छ कि छैन भन्ने बुझ्नलाई उसलाई तुरुन्तै प्रश्न सोध्नुपर्छ उसकै बारेमा । मेरो अनुभव थियो यस्तो ।
उसले आको छु भनी र फेरि सानैमा हो भनी ।
'तर ढाका जस्तै छ कलकत्ता ' उसले केहीबेर पछी भनी । मैले 'ए ' मात्र भने । केही बोल्न मन लागेन एकछिन । यधपी मलाई उु प्रति खुल्दुली कायम नै थियो ।

स्नेहा किन आकी त बाङ्लादेश ? एक्लै छे । बिहान देखि । अनि उदास । अनि भन्छे 'डर लाग्छ '। के उु मसँग डराइन ?

मैले उसलाई सोधे ' तिमीलाई मसँग किन डर लागेन ?'
'किनभने तिम्रो आँखामा त्यो छैन ' उसले भनि ।
 के ? के छैन ?मैले थपिरहे ।
'बासना !! बासनासँग डराँउुछु म ' स्नेहाले भनि र देखाइ फुट्पाथतिर र सोधी 'के त्यहाँ केटीहरु हिडिरहेका छन् ?' म केही बोलिन । उु बोलिरही केटी केटाको सबैथोक हुन्छे तैपनी केटीको सम्मान छैन । अनि माथि देखाइ एउटा होर्डिङ बोर्डतिर 'हेर सारा संसार मिलेर केटीहरुलाई नङ्याउछन् र पछी संसारले उनिहरुलाई चरित्रहिन भन्छ । '

ओह ! मैले भने 'तिमी तस्लिमाकी बहिनी हौ ?' उु हाँसी । यसपल्ट एकदम उन्मुक्त भएर । मलाई उसको कथा झन् थाहा पाउन मन लाग्यो । एकछिन किचकिच नै गरिदिए । कत्तिन पहिले देखि चिनेको जस्तो !

उु अझै दर्शन छाट्दै थिई । कस्तो जब्बर रईछे । पहिले स्टोरी छ भनी । जब जान्न मन लाग्यो । स्टोरी सुरुनै गर्दिन । उल्टा दर्शन छाट्दै थिई ।
रिक्सा जाममा फसेको थियो । ढाकाको जाममा केहीपल्ट फसेपछी मलाई काठमाडौंको जाम त जाम जस्तै लाग्दैन ।

'तिमीलाई अरु कुरा गर्न आउँछ ?',मैले केही झर्कदै भने । उु चुप भई ।
'तिमी के सोच्दै छौ ?' उसले सोधी । यो जाममा , यो गर्मिमा ,यो फत्फते केटीसँग बेकार हिंडेँछु । चिन्नु न जान्नु । उफ् ।धन्न धेरै बेर जाम भएन ।

'मेरो आँखामा अचानक 'बासना' आयो भने तिमी के गर्छौ होला भनेर सोचेको ।' मैले अलिक उत्त्ताउलो हुँदै सोधे । अब चुप लाग्छे भन्ने अनुमान सहित ।
तर मेरो अनुमान गलत भयो ।  
'डन्ट जोक । मैले बिदेशमा नेपालीको भर हुन्छ भन्ने सुनेकी छु ।' भनेर उसले मेरो काँधमाथि हात राखि ।
मलाई अलिकति 'सिरिङ्ग' भयो । मैले ' तर तिम्रो भर लागेन है' भन्दै हात हटाँए । उसले खित्का छोडि ।

'कसले भन्छ तिमीलाई यस्तो बकम्फुसे कुरा?' मैले झन जिस्काए ।
'मैले भने नि मलाई नेपालीहरुको बारे केही थाहा छ । मेरा साथीहरु छन् नेपाली ।'उसले भनी ।

यो जब्बरसेठ केटी प्रति उत्सुकता झन् बढ्दै गयो । त्यसपछी मैले भने ,'तिमीले आफ्नो कथा भन्छौ भन्ने सोचेको थिए । तिमी मसँग नबोल अब।'शायद यसैलाई भन्छन ईमोसनल ब्ल्याकमेल ।  


अनि उसले आफ्नो पोल खोली । उु भागेर आकी रहिछ । उसको प्रेमी सँग नभएर घरबाट अन्तै बिहे गरिदिन लागेछन् । प्रेमी फेसबुक मार्फत भेटिएको रहेछ ।उसको प्रेमी कलकत्ताको कुनै नाट्य समुहमा कलाकार रहेछ र दुई महिनाको लागि युरोप गएको थियो । र अझैसम्म उसको प्रत्यक्ष भेट भएको थिएन । प्रेमीको बारेमा निकै उत्साहित थिई उु । उसले मलाई बुझेको छ । र म उु सँग मात्र खुशी हुन्छु भन्दै थीई । उसको फुपुको घर रहेछ बाङ्लादेशको कक्स बजारमा । फुपुले उसलाई माया गर्छिन । र दुई महिना लुकाउँछिन भन्नेमा उु लगभग ढुक्क थिई ।

'तिमीलाई डर लागेन त्यतिबेला ? कसरी सम्भव भयो यहाँ सम्म आउन ?' मैले यसरी सोधे मानौ उसले चमत्कार गरेकी छे । उसलाई केही क्षणलाई पक्कै रोमान्चित बनायो मेरो प्रश्नले । उसको अनुहारमा सडकको बत्तिको प्रकाश परेको थियो । उसको ओठ मुस्कुराउन खोजेर पनि मुस्कुराएन ।

'सजिलो त कहाँ भयो र ! आमाको धेरै माया लाग्यो । सोचे मैले दरो हुनैपर्छ । फोन गरे उसलाई । अलिकती साहस आयो । मेरो साथी मामाघर सिलगुडी जानेवाला थिई । उुसँग कुरा मिलाए र सँगै हिंडे । कल्कत्ताबाट रेलमा सिलगुडी पुग्न समस्या भएन । त्यहाँबाट बुडीमाडी नाका हुँदै यता आए । अब कक्स पुगेपछी मात्र फोन गर्छु फुपुलाई । अहिले गर्दा झमेला हुन सक्छ । ' उसले सुस्केरा छोड्दै भनी ।

' आमा-बाबु चिन्तित होलान । सकेसम्म कुरा मिलाएर चाँडो फोन गर । कहाँ छौ नभने पनि ठीक छु त भन । ' सुझाव दिए ।
'सित्तैको सुझाव हो । माने मान , नमाने नमान । ' मैले थपिदिए ।
उसलाई एकछिन 'गरु कि नगरु' भयो होला । ' पछी गर्छु ' भनी ।

'धन्य रहेछौ तिमी त'मैले यति मात्र भने । 'बाबु-आमालाई मनाउँन भन्दा शरणार्थी हुन सजिलो' उसले भनि । हामी निकैबेर चुपचाप भयौं ।
हाम्रो रिक्सा एकफन्को मारेर पुन पहिलेकै बाटो फर्कन थाल्यो ।

मलाई अलि अलि भोक लागेजस्तो भयो । ' तिमीले के खायौ आज ',मैले उसलाई सोधे ।
उसले एउटा बिस्कुट खाए भनि । 'किन बिस्कुटमात्र?' मैले सोधे ।

उसले भनि उुसँग धेरै पैसा छैन र यदी फुपुकोबाट हिंड्नु पर्ने भयो भने उसलाई पैसा चाहिँनेछ ।
ओहो !!तिमी हिन्दी फिल्म धेरै हेर्छौ ?' मैले भने ।
'मेरो बापुको लाइन हो त्यो ' उसले भनि ।  

अनि हामीले खाजा खायौँ । आलु-परौठा । मिक्सड भेजिटेबल्स ।
बस चढ्ने बेलासम्म हामी काउन्टरमै गफ गर्दै बस्यौँ ।

मैले उसलाई आफ्नो ठेगाना दिए । फेसबुकमा कुरा गरौला र केही समस्या परे आएर भेट्नु भने ।
उसले 'सामु नाइस टु मिट यु ' भनि ।
म बस चढे ।

केही दिन अघि उसले फेसबुकमा एउटा सन्देश पठाइ ।
जसमा लेखिएको थियो :
'सामु आइ गट माइ लब । तुमी भालो आसो ?'( तिमी ठिकै छौ ?)

म उसको प्रोफाइलमा गए ।
उसको प्रोफाइल फोटोमा एउटा केटोको टाउको पनि सँगै थियो । गाला जोडेको ।

स्ट्याटसमा लेखेकी थिई:   ' समुन्द्रजस्तो माया चाहनेले सुनामी पनि सहनु पर्छ । '

मैले 'लाइक ' गरिदिए ।





















खुबै रसिक छन् उनी

गोडा चारेक पल्ट 
गोडा मोलेपछी सम्पादकको 
छापियो एउटा कबिता कबिज्यूको 
जसको शिर्सक थियो  
'स्वाभिमान' !!!

खुबै रसिक छन् उनी
अस्तिमात्र  
भेटेको थिए, 
भट्टिपसलमा 
भन्दै थिए,
देश बिग्रियो असलमा !  

म सुन्ने क्षमता राख्थे 
केही थान 'स्वाभिमान'हरु 
र उनी थिए निकै पछी भेटिएका !
खुबै रसिक !जोसिएका !

आलु र पृथ्वी 
दाँजेर लेखेको छु । 
कुरो बुझ्नुभएन के ?
उनी भन्दै थिए 
आलु चपाउँदै । 
खुबै रसिक छन् उनी !

देशको स्थिती हेर्दै लेखे 
जहाँ जे ट्याक्क मिल्छ 
त्यही लेखे , बुझ्नुभएन के ?
घुटुक्क पार्दै भने 
मैले घुटुक्क पार्दै सुने । 
काइदाका छन् उनी !

तेस्रो बोतलको 
दोस्रो पेगतिरको 
कुरा हो 
स्वर अचानक सानो पार्दै भने 
लगभग खासखुस गर्दै 
कुरा सब मिलाई सक्याछु 
प्रकाशक 
बितरक 
सबै ट्याक्क !
अलिकति पैसा 
जोहो गर्नु छ 
पुरस्कारको लागि !
अनी हाँसेका थिए 
हे.. हे.. हे.. हे !

र 
अराजक हुन्छ
काब्यचेत
भन्दै अचेत भएका थिए उनी ! 

खुबै रसिक छन् उनी !
अहिले 
उनैको कबिता पढ्दै छु 
'स्वाभिमान' !!!