Wednesday, April 17, 2013

परिस्थिति

सपना  बोकेर उड्नु 
माथि माथि 
धेरै माथि 
कावा खादै बादल पारी पुग्नु 
अनि ठोक्किनु चिलसंग 
घम्साघम्सीमा हुनु रक्ताम्य 
झर्नु केहि तल 
र देख्नु जसले लगाइदिए पखेटा 
तिनको आँखामा पानी  !

देख्नु पर क्षितिजमा 
ढल्दै गएको उमेर 
र नाप्नु आँखाले 
काट्नुपर्ने दुरी 
र गन्नु बाँकी प्वाँखहरु  !

उफ
हत्तेरी 
आफैलाई बिस्वास नहुने रैछ 
कहिलेकाही त 
आफ्नै परिस्थिति  !

Friday, April 12, 2013

'रेस्ट इन पिस' २०६९


तिमी आउँदाको खुशी
याद छ अझै
अखबार र ईन्टरनेटबाट
यसैगरी साटासाट भाथ्यो
भाषण र बक्तब्यबाजी पनि भाथ्यो
धेरै फूलहरुले हात पाए
ब्यापारी हाँसे 
बजार रमायो
नयाँ  पात्रो लिएर आथ्यौ
हामीले त्यसमा संबिधान खोज्यौ
केहि नालायाकहरु
तिमी नयाँ  छदै
तिमीलाई पुरानो बनाउन लागिपरे
अन्तत उनीहरुले जिते
आज उनीहरुको उत्सव छ
तिमीलाई पुरानो बनाउन सकेको उत्सव !

हामीकहाँ  आउँने हरेक नयाँ  वर्षलाइ
पुरानै बनाइदिने
केहि थान पुराना जीवहरु छन्
र छन्
उनीहरुकै  इसारामा परेड खेल्ने गोडाहरू !

अभिसप्त
बिछिप्त
२0 ६ ९
'रेस्ट इन पिस ' !

 मेरॊ हातमा एउटा गीतको किताब छ !


किताबको स्थिति -

 त्यस्को  गाता छैन ! आहिले पृष्ठ २१ नै त्यो किताबको पहिलो पाना हो र पृष्ठ ८0 अन्तिम ! त्यो किताब कति मोटो थियो मलाइ थाहा छैन ! त्यो मैलो छ ! त्यसमा मेरो आमाको औलाका  डामहरू छन् !



किताबको बारे  -


पृष्ठ ५ ८  मा लेखिएको छ -
'गीत र संगीतको मिठासले काममा रोचकता र उत्साह ल्याउँछ '


 पृष्ठ ६१ मा लेखिएको छ -
'कला यदि राजनीतिको यन्त्र बन्दैन भने त्यो समयको बर्बादी मात्र हो '-राल्फ फक्स !

त्यसैगरी पृष्ठ ६८  ले भन्छ-
जनताको गीतहरु गाइ जनताको सेवा गरौ !
सचेत र सभ्य समाजको निर्माण गरौ !

किताबको नाम 'जनताका गीतहरु ' होला भन्ने मेरो अनुमान छ !
मेरी आमाले यी गीतहरु घरमा र तिजको दिनमा जमघटमा  गाउँदा म सुन्थे मात्र
बुझ्दिन थे ! आज बुझ्छु ! आमाको स्वरको याद बाँकी छ !

आज धेरै पछि त्यो किताब हेरे ! केहि गीत बाड्न मन लाग्यो !

 नजाउ अंग्रेजी पल्टनमा ( रचना -स्व गोकुल जोशी / संगीत - रामेश) 

गरीबीको सुस्केरामा रुन्छ तिम्रो आत्मा
बेचिदिन्छौ जिन्दगीनै बिदेशीको हातमा
रिन तिर्न नसकेर बिदेशमा झर्छौ
अङंग्रेजको जालभित्र चालै नपाई पर्छौ
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !

मलायाको जनताको आन्दोलनलाई
नेपालीको तागतले दबाउनलाई
तिमीलाई कटाउँछ मलायामा लगी
जनताको ज्यान जान्छ रगतमा बगी
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !

मलायाका जनता हुन् हामी जस्तै दुखी
आफ्नो हक खोजेका छन् हुनलाई सुखी
पेट पाल्छौ आफू जस्तै गरीबलाई मारी
आजादी र शान्तिलाई खतरामा पारी
नमार गरीबलाई, नजाउ अङ्रेजी पल्टनमा !

युरोपका चुसाहाको थूक किन चाट्छौ ?
मलायाको गरीबको शिर किन काट्छौ ?
अङ्रेजलाई चढाउँछौ मानवको मासु
मलायाका युवक र युवतीको आँसु
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !

काम गर्छौ रुझीभिजी तिम्रै घर खाली
सामन्तले पोको पार्छन बर्खाभरको बाली
आसा मर्यो जीवनको शोषणले गर्दा
खान नपाई आन्द्रा सुकी बाल बच्चा मर्दा
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !

गरीबले बनाउँछ सात तले महल
महलमा शोषकले गर्छन् चहल पहल
गरीबले बनाउँछन् बन्दुकका गोली
गरीबकै रगतमा मनाउँछन् होली
नमार गरीबलाई , नजाउ अङ्रेजी पल्टनमा !

रगत र पसिनाले कमाएको धन
हाम्रो मुख मारी कस्ले खाँदो रैछ भन
स्वदेशमै बस तिमी निकालेर जोस
शोषकको हातबाट आफ्नो हक खोस
नमार गरीबलाई,नजाउ अङ्रेजी पल्टनमा !


-साहुको रिन (रचना -श्याम तमोट )

साहुको रिन तिर्न भनी गाको मेरो छोरो 
मेरो बाबा हर्कजीत फेरि फर्केन 
आँसुमा दिन बिते बिरहमा रात 
मेरो बाबा हर्कजीतलाई थाहै भएन !

बिदेशमा गई वीर गति पाइस भन्थे 

मेरो बाबा तेरो देशले केही पाएन 
अर्काको लागि मरिस् नेपाली छोरो तँ 
मेरो बाबा देशको पीर बुझ्दै बुझिनस् 

मर्ने त मेरो छोरो मरेर गई गो 

मेरो छोरा बाँच्नेले त पीर बुझन 
अर्काको लागि छोरा बेच्ने रिति तोड्न 
मेरा छोरा एक भई अघि बढन !



Wednesday, January 9, 2013

साथीहरुलाई चिट्ठी


प्यारा साथीहरु

आइते र चैतेहरु ,

   'देशको खबर लेखिपठाउ'

    भन्छौ तिमीहरु

    तिमीहरुलाई थाहा छैन

    मलाई कति गार्हो पर्छ

    त्यो लेख्न ?


   त्यो लेख्नु पर्दा त

   बेकार पढ्न लेख्न सिकेको जस्तो लाग्छ

   लेख्न खोज्छु शब्दै हराउँछ

   वाक्य बन्दैन 

   बल्ल तल्ल एउटा शब्द लेख्या छु

         बुझ है

 नबुझे विश्व ईतिहासको ठेली

         हेर है ।


    'सिक्किम '

    'सिक्किम '

    'सिक्किम '!!!

कविता बारे एउटा कविता


अचेल

धेरै धेरै कविता

सधैँ सधैँ 

भेट्छु यता उता

तर बुझिदैन फिटिक्क

जस्तो कि

एकदम देखादेख हुने

तर चिनजानै नहुने

सहरको वोल्लो र पल्लो कोठा !

शब्द बुझ्छु कतिको

वाक्य बुझ्दिन

वाक्य बुझ्छु कतिको

अर्थ बुझ्दिन

त्यसैले मलाई लाग्न थालेको छ

कबिता

मेरो मगज भन्दा माथि छ - एक भित्ता!


भर्खर एउटा कबिता पढे

र म झसङ्ग भए ,

के अब

कविता बुझे पुरस्कार पाउने जमाना आयो ?