आफ्नो अनुहार हेरे
धेरैबेर
र आज घोसणा गरे
मृत अनुहार !
रस निचोरिएको कागती जस्तो
अचानक चेट भएको चंगा जस्तो
हठात् समाउँदा समाउँदै
हातबाट खसेर
पोखिएको एक गिलास
रक्सी जस्तो !
न उत्साहको आभा
न क्रोधको आगो
न लोभको लेस
न प्रेमको मुहान
आचानक
कस्तरी फेरिएको छ
अनुहार !
निधारले अतिक्रमण गरेछ
र अलिमाथि सरेछ
उमेरको रेखा !
एकमनले त यस्तो लाग्यो
मारिदिऊँ यो अनुहार
जसले अब
बास्तबिक हाँसो हाँस्न सक्दैन
जसले अब अभिनय गर्नुपर्छ सधै !
अब बाँच्ने औपचारिकतामा
सिक्नु छ
यो मृत अनुहारलाई
बाँचेको अभिनय गर्न !
त्यसो त
म कलाकार थिइन
जीवनमा कला होस् या नहोस
बेपर्वाह बाँचेको थिए
भन्ने नै हो भने
अलिकति हाँस्नलाई
धेरै धेरै मातेको थिए
नशा उत्रिदा
हाँसो उत्रेको
एक बिहान
आफ्नै अनुहार
आफ्नो जस्तो लागेन !
र अब अभिनय सिक्न चाहन्छु !
यो सडेको रंगमंचमा
म रंगहीन अनुहार
दात देखाऊँन चाहन्छु
म सँग पनि छन् अझै
निकोटिनले डढेका
दुरुस्त ओठहरु
मुस्काउँन चाहन्छु !
No comments:
Post a Comment