Friday, September 16, 2011

मेरो सपनामा , बिपनाका जुकाहरु


उसको देवी-देवतालाई
मन्छाएर , पन्छाएर
 देशको जनतालाई
सुताएर , छक्याएर
लट्ट्याएर , अठ्याएर
कविहरुलाई पुरस्कारले
लेखक,कलाकारलाई दोसल्लाले
अरु धेरैलाई
तक्माले , पदले ,पैसाले
बुझो लाएर
'बिक्ने'लाई किनेर
'नबिक्ने'लाई लिलाम गरेर
अनेक जालझेल र तिकडमले
देश बेचेपछि उसले
आफ्नै घरमा भोज लाउँछु भन्यो
र थाहा पायो 'आफ्नो घर '  सकिएको  !!

त्यसपछि
घर खोज्न जाऔं भन्दै
उु मेरो डेरा आयो
म अल्मलिन्छु ,
कस्को घर खोजौं  भन्छ उु ?
हाम्रो घर एउटै भए
उसको भान्छा किन बेग्लै थियो ?
उसको भान्छामा
मेरो पसिनाको भुटुन किन थियो ?

उसले निकै कर गर्‍यो
किनभने ,
उसलाई थाहा छ
थाहा होइन अनुभव नै छ
मेरो रगतले घर बन्न सक्छ
मेरो पसिनाले तिउुन पाक्न सक्छ !

त्यसैले
उु फकाउन खोज्छ
बडो रगतको नाता भन्छ
तर , मलाई अचम्म लाग्छ
जुकाहरुसँग रगतको नाता कसरी हुन्छ?

यसपालि
म जुकाहरुसँग जान्न
आफ्नो घर आँफै खोज्छु !!

No comments:

Post a Comment